रूपन्देही। देवदहको केरवानी माध्यमिक विद्यालयका विद्यार्थी रोपाइमा व्यस्त भएका छन् ।राष्ट्रिय धान दिवसको अवसरमा विद्यालयका कृषि विषय अध्ययनरत विद्यार्थी धान रोपाइमा सहभागी भएका थिए । उनीहरूले विद्यालय नजिकैको खेतमा बिहानदेखि रोपाइ गरेका हुन्। मेसिनबाट पानी तानेर उनीहरूले शिक्षक शिक्षिकाहरूको सहयोगमा धान रोपेका थिए।

रोपाइमा सहभागी विद्यार्थी दिपा बस्यालले सधैँ कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा शुक्रबार अलि फरक रुपमा धान रोप्न पाएकोमा खुशी साटिन । ‘कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छ’, उनले भनिन्।
यसअघि ती विद्यार्थीले नै रोपाइँका लागि आवश्यक धानको बिउ राखेका थिए। उनीहरूले धानको बिउ राख्नेदेखि धान भित्राउने सम्मको सम्पूर्ण काम गर्ने कृषी शिक्षक शिव ढकालले जानकारी दिए। बिउ छर्ने, धान गड्ने, काटने, झार्नेदेखि भित्राउने सबै उनीहरूले नै गर्ने उनले बताए । ढकालका अनुसार धान रोप्ने कार्यक्रमको अघि नै उनीहरूलाई कक्षाकोठामा जानकारी गराइएको थियो । धान रोप्न विद्यार्थी कोदालो, लगायतका सामाग्री लिएर खेतमा गएका थिए।
विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले विद्यालय जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असार १५ का दिन रोपाइ कार्यक्रम गर्दै आएको जानकारी गराए। खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनले बताए ।
फोटो फिचर :











