गिरिजाप्रसादलाई टक्कर दिएका एमालेका जगदीश कांग्रेसका ज्ञानेन्द्रसँगको प्रतिस्पर्धामा

सोमबार, कार्तिक २७, २०७९ मा प्रकाशित

गिरिजाप्रसादलाई टक्कर दिएका एमालेका जगदीश कांग्रेसका ज्ञानेन्द्रसँगको प्रतिस्पर्धामा

सुनसरी क्षेत्र नम्बर(४ को चुनावी अंकगणित २०७४ सालमा काँग्रेसको पक्षमा थियो । वाम गठबन्धन गरेर चुनावमा होमिएका एमाले र माओवादीलाई काँग्रेस नेता तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जसपाको समर्थनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

अहिले परिस्थिति फेरिएको छ । एमालेबाट उम्मेदवार बनेका जगदीशप्रसाद कुसियैतलाई उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टीले समर्थन गरेको छ भने त्यस बेलाको वाम गठबन्धनको प्रमुख घटक माओवादी र एमालेबाट विभाजित भएर बनेको नेकपा ९एकीकृत समाजवादी०ले कार्कीलाई समर्थन गरेको छ ।

 

 

संसदीय निर्वाचनमा भोजपुरबाट पटकपटक पराजित भएर सुनसरी झर्नेबित्तिकै कार्कीले ०७४ सालमा निर्वाचन जितेका थिए । अहिले उनै कार्कीलाई सोही क्षेत्रबाट पटकपटक संसदीय निर्वाचन लड्दै जित्दै–हार्दै गरेका कुसियैतले टक्कर दिइरहेका हुन् ।

दुवैको दाबी छ, ‘मैले विगत ५ वर्षे कार्यकालमा गरेका कामको मूल्यांकन गर्दै पुनः जनताले जिताउँछन् ।’ कुसियैत वाम गठबन्धनबाट त्यसबेला सोही क्षेत्रको प्रदेश ९१०बाट प्रदेश सांसद जितेका थिए ।

कार्की झण्डै डेढवर्षदेखि देउवा नेतृत्वको संघीय सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचारमन्त्री छन् भने कुसियैत झण्डै साढे ३ वर्ष प्रदेश १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेका थिए । दुवैले आफू शक्तिमा रहँदा थुप्रै कामको थालनी गरेको फेहरिस्त सुनाउँछन् । ‘मैले यो क्षेत्रमा ५ वर्षको अवधिमा झण्डै १० अर्बको योजना ल्याएको छु, अहिले पनि काम धमाधम भइरहेको छ,’ सुनसरी क्षेत्र नम्बर ४ को नेपाल भारतसीमा क्षेत्र बंगाली टोलमा कार्यक्रम व्यस्त संचारमन्त्री कार्कीले प्रतिक्रिया दिँदै भने, ‘मैले गरेको विकासको काम यहाँका जनताले देख्नु भएको छ, निर्वाचन परिणाम के हुन्छ भन्ने कुरा ७ गते सुन्न आउनु होला, मैले कति हजारको अन्तरले जित्छु त्यहाँ थाहा हुन्छ ।’ कार्की आत्मविश्वासका साथ आफू जित्ने बताउँछन् ।

 

यता, गिरिजाप्रसाद कोइरालासँग पनि निर्वाचन लडेका कुसियैत पनि निर्वाचन जित्नेमा ढुक्क जस्तै देखिन्छन् । ‘चुनावी अभियान सन्तोषजनक छ । प्रदेश सरकारमा भएको बेला ३२ वटा वडामा करोडौंको बजेट ल्याएर काम गरेको छु । विकासको यो मोडल देखेर यस पटक मलाई जिताउने देखेको छु । मलाई यहाँको माटोले चिनेको छ, भूगोलले चिनेको छ । मलाई सबै व्यक्ति व्यक्तिले चिनेका छन्,’ कुसियैत भन्छन्, ‘जसपासँगको गठबन्धनले पनि हामीलाई जित सहज देखिएको छ ।’ ०७४ सालमा जसपाले पनि सहयोग गरेको कारण काँग्रेसले जितेको कुसियैतको दाबी छ ।

संचारमन्त्री कार्कीको व्यस्तता उक्त क्षेत्रमा निक्कै छ । कार्की बिहान ५ बजेदेखि रातिेसम्म फिल्डमै हुन्छन् । ‘कार्यक्रमको व्यस्तता धेरै छ । बिहानको ५ बजेदेखि राती ११ बजेसम्म खाली छैन,’ उनी भन्छन्, ‘सबै क्षेत्रका साथीहरुलाई एक पटक ज्ञानेन्द्रलाई भेटिहालौं, देखिहालौं भन्ने रहेको कारण म धेरै व्यस्त भएको छु ।’ उता कुसियैतलाई पनि निर्वाचनको दौडले एकछिन फुर्सद छैन ।

सुनसरी(४ को निर्वाचन इतिहास

सुनसरी ४ नम्बर क्षेत्रको निर्वाचनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले काँग्रेसबाट उम्मेदवार बनेर पटकपटक जितेका थिए । कुसियैतले पनि जितेका छन् । २०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालिन नेता उपेन्द्र यादव उम्मेदवार थिए । काँग्रेसका डाक्टर खलि अजाद साहले यादवलाई भारी मतले पराजित गरे ।

 

०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग उनै जगदीश कुसियैत पराजित भए । ०५३ सालको उपनिर्वाचनमा कुसियैत निर्वाचित भए । त्यसबेला काँग्रेसका उम्मेदवार हरि सापकोटा पराजित भए । त्यसबेला आफूले झण्डै १० हजार बढी मतले चुनाव जितेको उनी बताउँछन् । ०५६ सालमा कुसियैत मालेतिर लागेपछि सो क्षेत्रबाट एमालेले महबुब अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरायो । निर्वाचन भने कोइरालाले नै जिते ।

त्यसपछि ०६४ सालमा एमालेबाट उम्मेदवार बनेका महबुब अन्सारी र काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरे । ०७० सालमा पुनः उनै कुसियैत चुनाव लडे । उनलाई यादवले पराजित गरे । ०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेका रमेश श्रेष्ठलाई काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले पराजित गरेका थिए । यस पटक भने जसपाले एमालेलाई समर्थन गरेको छ । अघिल्लो पटक कार्कीलाई नै जसपाले समर्थन गरेको थियो ।

स्थानीय तहको मतको अवस्था

सुनसरी क्षेत्र नम्बर ४ मा रामधुनी नगरपालिकाको वडा नम्बर ४, बराह नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० र ११, इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८, भोक्राहा र कोशी गाउँपालिका सिङ्गै तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा पर्दछ ।

 

सुनसरी ४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । त्यहाँ काँग्रेसले २८ हजार ७५६ मत पाएको छ । यस्तै एमाले २३ हजार ६१३, जसपाले जसपा ९ हजार ८६३, नेकपा एसले एस ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।

यही मतका आधारमा भन्ने हो भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका संचारकर्मी कार्कीको पक्षमा ३७ हजार ६०६ मत पुग्छ । यस्तै एमाले र जसपाको मत भने त्यहाँ ३३ हजार ४७६ मत रहेको छ ।
सोही क्षेत्रमा पर्ने वडाहरुमा रामधुनी ४ मा एमालेका वडाध्यक्ष छन् । यस्तै बराहक्षेत्रको ६ वटै वडामा काँग्रेस, इनरुवा नगरपालिकाको ३ र ८ नम्बर वडामा एमाले, ४ नम्बर वडामा लोसपाले जित निकालेको छ ।

यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, ३ वटामा राप्रपा र एउटामा नेकपा एकीकृत समाजवादीले जितेको छ । यस्तै कोशी गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, जसपा २ वडामा तथा माओवादी र नेकपा एमालेले १–१ वडामा जित निकालेका छन् । ४ नम्बर क्षेत्रमा पर्ने हरिनगरा गाउँपालिकाको २–२ वडामा एमाले र काँग्रेस तथा एक–एक वटामा जसपा र नेकपा एकीकृत समाजवादीले जित निकालेका छन् ।
२०७४ सालको निर्वाचनमा सुनसरी ४ बाट काँग्रेसबाटै उम्मेदवार बनेका कार्कीले बाम गठबन्धनका उम्मेद्वार एमालेका रमेश श्रेष्ठलाई झण्डै ७ हजार मत अन्तरले पराजित गरेका थिए । श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएर विजयी बनेका थिए । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका राम नरायण यादवले ५ हजार २० मत ल्याएका थिए ।

 

जनतामा असन्तुष्टि

हरिनगरा ५ बसन्तटोलका दिनेश कुमार मेहतालाई मनैदेखि खुसी भएर कुनै पनि नेतालाई भोट हाल्न मन छैन । उनले ४ विगाहा लगाएको धान गत वर्ष कार्तिकमा आएको सुनसरी खोलाको बाढीले बगायो ।

क्षतिपूर्तिको लागि पालिकामा निवेदन पनि दिए । उनले बाढीले ४ विगाहा जग्गामा लगाएको धानको १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । तर, क्षतिपूर्ति आएन । त्यसपछि उनी नेताहरु र पार्टीसँग रुष्ट छन् । उनी मात्रै होइन हरिनगरा ६ का रामु मेहताले पनि सोही कारण रुष्ट बनेका छन् ।

‘गत वर्ष कार्तिकको बाढीले डुबेको धानको क्षतिपूर्तिका लागि फारम भराइयो । तर, क्षतिपूर्ति एक रुपैयाँ पनि आएन,’ मेहता भन्छन्, ‘नेताहरुले घुस्कीमा आएर भाषण गरेका थिए । त्यसबेला क्षतिपूर्ति दिन्छु भनेका थिए । तर अहिलेसम्म आएन ।’ निर्वाचनको अभियानमै रहेका नेताहरुले भने क्षतिपूर्ति दिनका लागि विभिन्न प्रक्रियागत झण्झट भएको कारण किसानले पाउन नसकेको बताएका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो