
बालकृष्ण खाँण भर्सेस दीपक बोहोरा, कसको शक्ति कति ?
बहालवाला गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारीले रुपन्देही–३ मा मुलुकको ध्यान केन्द्रित छ । यहाँ राप्रपाबाट दीपक बोहरा, नागरिक उन्मुक्तिबाट तुल्सीप्रसाद थारु, राप्रपा नेपालबाट सरस्वाती धोवी धवाल, जनमत पार्टीबाट प्रमोद कुमार राउत, हाम्रो नेपाली पार्टीका प्रख्यात बञ्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जितबहादुर गुप्ता लगायत उम्मेदवार छन् ।
खाँणलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग छ भने राप्रपाका उम्मेदवार बोहरालाई एमाले र जसपाको साथ छ ।
अन्य उम्मेदवारहरु एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएको अवस्था छ । रुपन्देही–३ मा चुनावी चित्रमा ६ दलीय गठबन्धनका साझा उम्मेदवार खाँण र तीन दलीय गठबन्धनका बोहराबीच मुख्य प्रतिस्पर्धा देखाउँछ ।
रुपन्देही–३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९ वडा, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्दछ ।
यहाँ स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत अनुसार कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ ।
यस्तै, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र एकीकृत समाजवादीको ९७७ मत छ । सत्ता गठबन्धनको मत ४० हजार १६७ पुग्छ भने एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । यस आधारमा खाँणभन्दा बोहरा ७ हजार ८३९ मतले अगाडि छन् । तर रुपन्देही–३ मा स्थानीय निर्वाचनपछि चुनावी नक्सा फेरिएको छ । एमालेका प्रभावशाली नेता घनश्याम भुसाल पार्टी छाडेर सत्ता गठबन्धनको साथमा रुपन्देही–१ बाट चुनावी मैदानमा छन् ।
रुपन्देही–३ का निवर्तमान सांसद भुसालले कम्तीमा २५ सय मत खाँणका लागि ट्रान्सफर गरिदिन सक्ने भय बोहरामा छ । चुनावका मुखमा राप्रपा सिद्धार्थ नगरपालिकाका नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ कांग्रेसमा प्रवेश गर्दा बोहरालाई चुनौती थपिएको छ ।
विगतका चुनावमा बोहराको दाहिने हातको रुपमा भूमिका निर्वाह गर्दै आएका उनी यसपालिको चुनावमा खाँणको साथमा छन् । असोज २८ गते राप्रपा परित्याग गरी श्रेष्ठ कांग्रेस प्रवेश गरेपछि बोहरालाई धक्का लागेको छ । यस्तै सिद्धार्थ नगरपालिका वडा नम्बर ३ घर भएका जसपाका जिल्ला कोषाध्यक्ष श्याम चौधरी ‘गुट्टु’ कात्तिक २३ मा कांग्रेस प्रवेश गरेका छन् । यसले पनि सत्तारुढ गठबन्धनलाई राहत पुगेको छ । चौधरीले करिब ५ सय मत प्रभावित पार्न सक्ने देखिन्छ ।
गृहमन्त्री खाँणले अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा भित्र्याएपछि बोहरामाथि थप दबाब बढाएको छ । गृहमन्त्री खाँण बसेको घरको प्राङ्गणमा अचेल दिनहुँजसो पार्टी प्रवेश कार्यक्रम चलिरहेको हुन्छ । सोमबार राति ११ बजेसम्म पनि त्यहाँ पार्टी प्रवेश चलिरहेको थियो ।
खाँणले खादा र प्रमाणपत्र वितरण गरेर नवप्रवेशीलाई स्वागत गरिरहेका थिए । खाँणको सचिवालयका अनुसार यस्तो पार्टी प्रवेश ७–८ दिनदेखि जारी छ । यो मंसिर ३ गतेसम्म चलिरहने खाँणको सचिवालले बतायो ।
यता लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डले बोहरालाई समर्थन गरेकी छन् । लोसपाले खाँणलाई समर्थन गरे पनि पाण्डे पार्टी परित्याग गरी बोहराको कित्तामा उभिएकी छन् । निवर्तमान समानुपातिक सांसद पाण्डेको साथले बोहरालाई केही राहत भएको छ ।
यसका अलावा रुपन्देही–३ मा खाँण र बोहराले प्रदेशसभा उम्मेदवारमाथि पनि ठूलो भरोसा राखेको देखिन्छ । खाँणले सबैभन्दा बढी मतदाता रहेको र बोहराको घर भएको भैरहवा क्षेत्रमा बढ्ता ध्यान दिएका छन् । रुपन्देही क्याम्पस नजिकै चुनावी परियोजनका लागि घर भाडामा लिएर उनले भैरहवामा चुनावी गतिविधि बढाएको देखिन्छ ।
स्थानीय तहमा लोसपाको मत न्युन भए पनि भैरहवा क्षेत्रको मत तान्न खाँणले सन्तोष पाण्डेलाई प्रदेश ९क० को उम्मेदवार बनाएका छन् । सत्ता गठबन्धनबाट प्रदेशसभाका साझा उम्मेदवार लोसपाका सन्तोष पाण्डेको भैरहवामा राम्रो प्रभाव छ ।
भैरहवाका व्यापारीको साथले खाँणलाई सहजता थपेको छ । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष लगायतका व्यापारीले खाँणलाई खुलेर साथ दिएको अवस्था छ ।
भैरहवा क्षेत्रमा मुस्लिम मत निर्णायक देखिन्छ । सिद्धार्थ नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानमार्फत मुस्लिम भोट आफूलाई आउने खाँणको विश्वास छ । खानले पाएको ९ हजार १३४ मत आफूले पाए सहजै चुनाव जित्ने खाँणको विश्लेषण छ ।
मुस्लिम मत खाँण र बोहराको तानातानमा परे पनि थारु मतमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको दबदबा देखिन्छ । रुपन्देही–३ को थारु बस्तीमा नागरिक उन्मुक्तिको आक्रमक प्रचारले खाँण र बोहरालाई झस्काएकोे छ । उन्मुक्तिका तुल्सीप्रसाद थारुले खाँण र बोहरामध्ये जसको बढी भोट काट्यो, उसैलाई चुनाव जित्न चुनौती हुने चर्चा छ । यसलाई मध्यनजर गरी खाँणले थारु बस्तीमा गतिविधि बढाएको पाइएको छ । दाङका योगेन्द्र चौधरी लगायका कांग्रेसका केन्द्रीय नेताहरु रुपन्देही–३ को थारु बस्तीमा खाँणको पक्षमा वातावरण सिर्जना गर्न केन्द्रित छन् ।
यता एमाले–जसपा र राप्रपा गठबन्धनले थारु मत तान्न प्रदेशसभा ९ख० मा तुलसीप्रसाद चौधरीलाई उम्मेदवार खडा गरेको छ । रुपन्देही–३ मा खाँणले थारु उम्मेदवार तय गर्ने कुरामा ध्यान नपुर्याए पनि पार्टीभित्रको गुटगत समीकरण मिलाएको पाइन्छ । शेखर कोइराला पक्षका रामचन्द्र ढकाललाई प्रदेशसभा ९ख० मा उम्मेदवार बनाएर गुटगत समर्थन प्राप्त गर्ने खाँणको जुक्ति प्रभावकारी बनेको देखिन्छ । कांग्रेस महाधिवेशनमा रुपन्देहीमा गुतगत राजनीति चर्को थियो । त्यसलाई मत्थर पार्न खाँणले ढकाललाई उम्मेदवार बनाएको रुपन्देही कांग्रेसमा चर्चा छ ।
रुपन्देही–३ मा घनश्याम भुसाल, मुस्लिम भोट, थारु भोट, कांग्रेसको गुटगत राजनीति, पार्टी प्रवेश फ्याक्टरले खाँण र बोहराबीचको चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ । दीपक बोहराको बोलीमा समस्या हुँदा प्रचारमा गृहमन्त्री खाँण हाबी भएको देखिए पनि प्रतिस्पर्धाको रौनकता हराएको छैन ।
०७४ मा समानुपातिक उम्मेदवार बनेका खाँणलाई रुपन्देही–३ का मतदातामा स्थापित हुन संघर्ष गर्नु परेको छ भने बोहराले आफ्नो कुरा सुनाउन आरुको सहयोग लिनु परेको छ । उनीहरूमा एउटा कुरा भने समान छ । काम गर्न नसकेको मतदाताको गुनासो खाँण र बोहराले खासै सुन्नु परेको छैन । यहाँ अहिले ०७४ मा चुनाव जितेको न दलको उम्मेदवार छ र न त्यतिबेलाका उम्मेदवार मैदानमा छन् ।
तत्कालीन वाम गठबन्धनबाट निर्वाचित एमालेका भुसालले पार्टी छाडेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बन्दा रुपन्देही–३ का मतदाताको गुनासो मनमै छ । खाँण र बोहरासँग अहिले गरेका बाचा पूरा गर्न मतदाताको आग्रह छ ।
चुनावी सेरोफेरोमा केन्द्रित रहेर गृहमन्त्री खाँण र राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी प्रस्तुत छ–
मतदाताले बोल्ने र काम गर्ने व्यक्तिलाई चुन्नु हुन्छ स् बालकृष्ण खाँण
उम्मेदवार, नेपाली कांग्रेस
रुपन्देहीमा ६ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ, चुनावी प्रचार–प्रसार कसरी अगाडि बढेको छ रु
चुनावी परिचालनमा हामीले सम्पर्क कार्यालय स्थापना गर्यौँ । पार्टी कार्यकर्ताहरूको भेला गर्यौँ । कार्यकर्ताहरूको प्रशिक्षण पनि विभिन्न चरणमा भयो । भ्रातृ संस्थाको भेला तथा प्रशिक्षण भएका छन् । प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमहरू भेला, कोणसभा, घरदैलो हुँदैछ ।
कोणसभा र घरदैलोमा जनतासँग जोडिँदा जनताको अपेक्षा के के पाउनु भयो रु
अहिले नेपालको लागि विकास चाहिएको छ । जनताको लागि अवस्थाको परिवर्तन चाहियो । जनताको जीवनस्तर उकास्नु पर्यो । रोजगारी चाहियो । गरिबी नेपालबाट हट्नु पर्यो । उस्तै व्यावहारिक देखियोस् भन्ने छ ।
जनताको त्यो मागलाई सम्बोधन गर्न खास के एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा जानु भएको छ रु
अहिले खास गरेर नेपाली नेपाली कांग्रेस र वामपन्थी बीचमा सहमति हुँदा नेपालमा धेरै ठूला–ठूला राजनीति उपलब्धि भएका छन् ।
जनताले चुनेको प्रतिनिधिबाट संविधान बनेको छ । व्यवस्था बदलियो, अब अवस्था बदल्नु छ । त्यसकारण हाम्रो मूल एजेन्डा नै विकास र आर्थिक वृद्धि हो ।
रुपन्देही–३ मा विगतमा तपाईं जनप्रतिनिधि हुँदा के भयो रु तपाईं जित्दै गर्दा आगामी दिनमा के हुन्छ रु
यहाँ हिजो पञ्यायती शासनकालमा भौतिक पूर्वाधारको विकास सुरुवात मात्रै भएको थियो । धेरै विकास भएको छैन । अहिले धेरै बाटो बनेको छ । पुल बनेको छ । स्वास्थ्यको लागि धेरै काम भएको छ । यहाँ भौतिक विकास तीव्र रूपमा अगाडि बढेको छ । तर अझै चित्त बुझ्दो रूपमा छैन । अझै थप्नुपर्छ ।
यहाँ सत्ता गठबन्धन सँगै विपक्षीले पनि गठबन्धन गरेर अगाडि आएको छ । विपक्षीसँगको चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ रु
निर्वाचन जहिले पनि चुनावी प्रतिस्पर्धा नै हुन्छ । त्यो प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै जनताको माझमा जाने र जनताको विश्वास लिएर आगाडि जाने हो । जनताले जसलाई पत्याउँछ, त्यो निर्वाचित हुन्छ भन्ने मेरो मान्यता हो । त्यसको लागि काम भइरहेको छ ।
स्थानीय तहको मत आधारमा सत्ता गठबन्धन पछाडि देखिन्छ । साथै ६ दलीय गठबन्धनमा मत ट्रान्सफरको समस्या पनि होला । त्यो चुनौतीलाई कसरी लिनुहुन्छ रु
स्थानीय तहको निर्वाचन एउटा परिस्थितिमा भएको थियो । त्यो बेला वडा अध्यक्ष, नगर, गाउँपालिका सदस्यहरूको व्यक्तित्व, जनसम्पर्क, त्यो उहाँहरूले गरिएको चुनावी परिचालनले प्रभाव पारेको थियो होला । स्थानीय चुनावमा जे मत आएको छ, त्यो मत सदाका लागि रहिरहन्छ भन्ने होइन । बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।
त्यसो भए चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ रु
जनता माझमा जाँदा सद्भाव र सहयोग छ । रुपन्देही जिल्लाको गौरवको लागि काम गर्नु भएको छ, विकास निर्माण पनि थुप्रै गर्नु भएको छ, धेरै विकास योजनाहरू अगाडि बढाउनु भयो भन्ने कुरा यहाँका मतदाताले गर्नुभएको छ ।
आउने दिनमा यी आयोजनाहरूलाई आगडि बढाउनु होला, हामीलाई रोजगारी उपलब्ध हुने खालको वातावरण तयार गर्नुहोला भनेर यहाँका हाम्रो ज्येष्ठ नागरिकहरू र युवा साथीहरूले भनिराख्नु भएको छ । यसले मलाई उत्साहित बनाएको छ । चुनाव जित्नेमा द्विविधा छैन । ६ हजार मतान्तरले चुनाव जित्न सक्ने अहिलेसम्मको रिपोर्ट छ । चुनावका दिनसम्म अझै यो बढ्छ ।
तपाईंले ६ हजार मतान्तरले हामी अगाडि छौँ भन्नु भयो, यसको आधार के हो रु
अहिलेसम्म ६ हजारले अगाडि छौँ । आन्तरिक मत सर्वेको आधारमा हाम्रो मत बढिरहेको छ । यहाँ मतदाता बोल्ने र काम गर्ने उम्मेदवार चुन्न आतुर हुनुहुन्छ ।
तपाईंको प्रतिस्पर्धीले चुनावको निष्पक्षतामाथि आशंका गरिराख्नु भएको छ । त्यसलाई यहाँले के भन्नुहुन्छ रु
हामी अहिले निर्वाचन पूर्ण रूपमा निष्पक्ष, भयरहित रूपमा गर्नका लागि प्रतिबद्ध छौँ । अहिले म सरकारको गृहमन्त्री छु । संविधानले हामीलाई पनि चुनावमा उठ्ने अधिकार दिएको छ । त्यही अधिकार प्रयोग गरेर म उठेको हो । उम्मेदवार भएर घरदैलोमा जाँदा पनि उम्मेदारको रूपमा गइरहेको हो । अहिले सरकारी सवारी साधनको प्रयोग पनि गरेको छैन । झन्डा पनि प्रयोग गरेको छैन । एउटा उम्मेदवार जुन सामान्य खालको सवारी साधन प्रयोग गर्छ, त्यही खालको प्रयोग गरेका छौँ । त्यसमा धेरै नियाल्नु पर्ने अवस्था छैन । कुनै आशंका नगरे हुन्छ ।
मुलुकमा मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र भयरहित गराउन सुरक्षा संयन्त्र कसरी परिचालन भएको छ रु निर्वाचन सुरक्षामा ढुक्क हुने अवस्था छ रु
हामी निष्पक्ष चुनाव गराउन प्रतिबद्ध छौँ । नेपालमा सबैजसो संसदीय चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएका छन् । ती सबै चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा भएका छन् ।
हालै हामीले स्थानीय तहको निर्वाचन गरेका छौँ । त्यो निर्वाचन पनि स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा नै भयो । हाम्रो लक्ष्य नै निर्वाचन स्वतन्त्रपूर्वक नै गर्ने हो । त्यसमा हामी प्रतिबद्ध नै हो । हामीलाई विश्वास पनि निर्वाचनमाथि छ । लोकतन्त्र पद्धतिमाथि हामीलाई विश्वास छ ।
तपाईं सत्ता गठबन्धनको प्रभावशाली नेता पनि हो । आगामी निर्वाचनको परिमाण कस्तो आउने आँकलन गर्नु भएको छ रु
नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ । सत्ता गठबन्धन सुविधा सम्पन्न बहुमतमा पुग्छ । निर्वचनलाई सहजतापूर्वक नै लिएका छौँ । अहिलेको सत्ता गठबन्धन चुनावपछि पनि जारी रहन्छ ।
मत ट्रान्सफरलाई एक खालको समस्याको रूपमा हेरिएको छ । मत ट्रान्सफर नहुँदा कसरी बहुमत आउँला रु
मत ट्रान्सफरमा समस्या भए पनि अधिकांश मतदाताले गठबन्धनलाई मत दिनुहुन्छ । मतदाताहरूले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सहयोग पुर्याउनुहुन्छ । गठबन्धनका उम्मेदवारहरुले सजिलै बहुमत पुर्याउने गरी जित्नुहुन्छ ।
हामी दोब्बर मतान्तरले जित्छौँ स् स्वाती थापा
संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही(३ का संयोजक तथा राप्रपा नेतृ
रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको के हो रु
उहाँलाई पोष्ट कोभिडका कारण बोल्नका लागि समस्या भएको हो । डाक्टारको सुझाव सल्लाह अनुसार स्पिच थेरापी गरिराख्नु भएको छ । कुनै दीर्घकालीन समस्या होइन । हालको लागि समस्या हो । अरु कुनै प्रकारको रोग छैन ।
हामीले काठमाडौं, दिल्लीमा चेक गराउँदा कुनै समस्या छैन । उहाँ बिहानदेखि रातिसम्म पूर्ण रुपमा निर्वाचन परिचालन गरिराख्नु भएको छ । हामी अहिले राप्रपा, एमाले र जसपाको तालमेल र सहकार्यमा छौँ । उहाँले सबै परिचालन गरिराख्नु भएको छ । उहाँको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता गर्नु पर्ने केही छैन ।
उहाँ कहिलेसम्ममा बोल्न सक्ने हुनुहुन्छ रु
उहाँलाई अझै एक दुई महिना लाग्ला । बिस्तारै सुधार हुँदैछ ।
दीपक बोहराले अगाडि सारेका खास एजेण्डा के छन् रु
यो ठाउँमा विकास कामहरु सडक, विद्युतीकरण, सिँचाइको लागि भैलो भुज परियोजना उहाँकै नेतृत्वमा भएको हो । यस्तै विगतमा बुटवलको दीपनगर भन्ने ठाउँमा सुकुमबासी समस्या समाधान गर्न उहाँको नामबाट दीप नगर भन्ने बस्ती नै बसाल्नु भएको हो ।
उहाँले स्थानीय तह, राष्ट्रिय तहमा शिक्षा, स्वास्थ्यको लागि थुप्रै योजनाहरु लिएर काम गर्नु भएको छ । उहाँ पटक पटक मन्त्री बन्दा पनि धेरै काम गर्नु भएको छ । गौतमबुद्ध विमानस्थलको स्तरोन्नति उहाँकै पहलमा भएको हो । शिक्षाको क्षेत्रमा, स्वास्थ्य बिमाको काम भएको छ ।
बोहरालाई रुपन्देहीका मतादाताले किन मतदान गर्ने रु
म फेरि पनि भन्छु, ५० वर्षदेखिको राजनीतिक निरन्तरता, स्थानीय विकास निर्माण र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिमा पहुँच र प्रभाव राख्न सक्ने क्षमता उहाँमा छ । सबै पार्टीका शीर्ष नेताहरूसँग पनि सम्बन्ध राम्रो छ ।
दीपक बोहराले विगतमा धेरै राष्ट्रिय गौरवको आयोजनाहरू, एडीबीको कार्यक्रमहरू रुपन्देही क्षेत्र नम्बर ३ मा ल्याउन सफल हुनुभएको हो । राप्रपाको वरिष्ठ नेता बोहरा, जसपाको केन्द्रीय नेता महेन्द्र यादव र एमालेको केन्द्रीय नेता तुलसी चौधरीको पक्षमा यति बेला रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल तयार भइसकेको छ ।
जितको आधार के छ रु
जितको मुख्य आधार हाम्रो संयुक्त प्रतिबद्धता हो । हामी हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिङ्गो देशका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकदेखि योजना, नीति र छलफल चलाएर अगाडि बढेका राष्ट्रवादी शक्तिहरूको तालमेल र जनविश्वास नै हाम्रो जितको आधार हो ।
अर्कोतर्फ गणितीय हिसाब गर्दा पनि हामीले जितिसकेका छौँ । हाम्रो तीन दलीय सहकार्य र तालमेल अत्यन्तै व्यवस्थित छ । यी तीनै पार्टी यो क्षेत्रमा अलगअलग हुँदा पनि बलिया छन् । एकै ठाउँ भएपछि त्यसको परिणाम झन् सशक्त भएको छ । यसैले हामी दोब्बर मतले जित्दैछौँ ।
०७० मा रुपन्देही–३ मा राप्रपाले जितेको, ०७४ मा एमालेले जितेको इतिहास छ । स्थानीय निर्वाचनमा यो क्षेत्रका पालिकामा यी तीन पार्टीले पाएको प्राप्त मत विश्लेषण गर्दा पनि हामी १२ हजार ७ सय बढी मतले अगाडि छौँ ।
बहालवाला गृहमन्त्रीसँग प्रतिस्पर्धा हुँदैछ । त्यसलाई राप्रपाले कसरी लिएको छ रु
यहाँ गृहमन्त्रीज्यू चुनाव लडिरहनु भएको छ । यहाँ प्रशासन परिचालन चित्त बुझ्दो छैन । शक्तिको दुरुपयोग भएको छ । चुनावलाई फेयर रूपमा गर्नुपर्छ । चुनाव निष्पक्ष रूपमा हुन्छ भन्नेमा हामी सशंकित छौँ । शक्ति र सत्ता दुरुपयोग गर्न भएन, अहिले म यति नै भन्न चाहन्छु । उहाँ चुनावी मैदानमा आउँदा गृहको बलमा आउन हुँदैनथ्यो । तर हामी जनताको बलले अगाडि बढेका छौँ ।
राप्रपाले चुनाव जित्छ रु
हामीले भारी मतले जित्छौँ । हामीले विकासका काम गरेका छौँ । उहाँहरूले विकासका काम गर्नु भएको छैन । उहाँले काम केही गर्नु भएको छैन । उहाँहरूबाट खाली यो पद दिन्छु, त्यो पद दिन्छु मात्रै भन्ने काम भएको छ । त्यसको आधारमा कसरी चुनाव जित्न सकिन्छ रु
देशभर ५ दलीय गठबन्धन हुँदा रुपन्देहीमा मात्रै ६ दलीय गठबन्धनमा छ । त्यो लडाइँलाई कसरी हेर्नु भएको छ रु
यो दलीय गठबन्धन, विचार सिद्धान्त कसरी मिल्यो भन्ने कुरा अर्को पाटो भयो । यहाँ मिल्दै मिल्न नसक्ने मान्छेहरू मिल्नु भएको छ । त्यही नै अचम्मलाग्दो कुरा हो । तर हामी एमाले, राप्रपा र जसपाको तालमेल छ, त्यो नै लोकप्रिय र पवित्र काम भएको छ ।
सिद्धान्तको कुरा उठाउनु भयो । एमाले, जसपा र राप्रपाको सिद्धान्तमात्र होइन, उद्देश्य र लक्ष्यसमेत मिल्दैन । त्यो तालमेल कसरी पवित्र भयो रु
राष्ट्रमा बेथिति धेरै भए । राष्ट्र धेरै सङ्कटमा भएकाले हामी राष्ट्र बचाउन एक भएर हिँडेका छौँ ।








