भरतपुर । भरतपुरको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरु बिरामी परेपछि शील लगाईएको छ । आज साँझ चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछाने र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको उपस्थितिमा रिसोर्टमा शील लगाईएको हो । आज मात्रै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समेत रिसोर्टको अनुगमन गरेकी थिइन्।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको उक्त रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।
आजै अनुगमन टोलीले होटलको अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर, स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका प्रतिनिधिसहितको टोलीले होटलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको सहायक प्रजिअ शर्माले बताए । होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तामक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको पनि उनले जानकारी दिए ।
अनुगमनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए । होटल सञ्चालकलाई बुधवार प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ शर्माले बताए ।







