बागलुङ । पहिचान नभएका छाडा कुकुरले गोठमै पसेर घरपालुवा जनावर मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा छाडा कुकुरले किसानको गोठमा पसेर घरपालुवा जनावर मार्न थालेका हुन् ।
समुहमा रहेका छाडा कुकुरले गोठमा पसेर बाख्राका पाठा, भैंसीका पाडालाई आक्रमण गर्ने गरेको कुश्मीशेराका किसान रेशम नेपालीले बताए । पछिल्लो एक महिनामा कुकुरले कुश्मीशेराका मदन आचार्यको १२ हजार मुल्य पर्ने बोका र रेशम नेपालीको १० हजार मुल्य पर्ने बाख्रा आक्रमण गरेर खाएका छन् ।
‘घरमा कोही नभएको मौकामा गोठमा पसेका एक हुल भुस्याहा कुकुरले बोको मारेर खाएछन्’ आचार्यले भने । आचार्यको बोका मारेको एक साता नबित्दै सोही ठाउँका रेशम नेपालीको बाख्रा मारेको उनले बताए । कुश्मीशेराको टार गाउँका अन्य गोठमा समेत समुहमा पस्ने कुकुरले भैँसीका पाडापाडीलाई आक्रमण गरेको पीडित किसानको गुनासो छ ।
कुकुरका कारण स–साना बालबालिका घरमा एक्लै छोड्न समेत त्रास भएको आचार्यले गुनासो गरे । ‘खेतबारीमा काम गर्नुपर्छ, सँगै लिएर हिँडेर साध्य हुँदैन्, गोठमा बाख्रा खाने कुकुरले बालबच्चालाई आक्रमण गर्लान भन्ने डर भो’ आचार्यले भने ‘छाडा कुकुरको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिएन् ।’ गाउँमा कुकुर आतंक मच्चिएको खबर सम्बन्धित निकायमा पु¥याएको भएपनि कसैले वास्ता नगरेको उनीहरुको गुनासो छ ।
छाडा कुकुरले जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारमा रातको समयमा थप आतंक मच्याउने गरेका छन् । रातको समयमा बजारमा यात्रा गर्ने जो–कोहीलाई कुकुरले पछ्याउने गरेको स्थानीय त्रिबिक्रम शर्माले गुनासो गरे । बजारीकरण हुँदै गरेको कुश्मीशेरा बजार र आसपासका गाउँमा कुकुरको बिगबिगी छ ।
कुकुर नियन्त्रण गर्न नगरपालिकाले कुनै कार्यक्रम नबनाएको जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनले बताए । कुकुरलाई मार्न नमिल्ने भएकाले आतंक मच्चाउने कुकुरको बिषयमा उपयुक्त समाधान खोजी गर्ने उनले बताए । किसानले भने कुकुरले पारेको पशुचौपायको क्षतिपूर्ती पाउनुपर्ने माग गर्दै आएका छन् । जंगली जनावरबाट मारिएका पशुचौपायको डिभिजन बन कार्यालयले क्षतिपूर्ती दिने भएपनि छाडा कुकुरको आक्रमणमा मरेका चौपायको भने कहिँकतैबाट क्षतिपूर्ती नपाएको किसान रेशम नेपाली बताउँछन् ।







