लमही ।लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही कोइलाबास सडक फराकिलो गराउने अभियानको सुरुवात गरेका छन् । बुधबार प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर कामको थालनी गरेका हुन् ।
डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए ।
लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो ।
हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुआब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो ।







