बालकुमारी घटना : मृतकका परिवारका एकजनालाई सरकारले रोजगारी दिने

सोमबार, पुष १६, २०८० मा प्रकाशित

बालकुमारी घटना : मृतकका परिवारका एकजनालाई सरकारले रोजगारी दिने

काठमाडौँ/ बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारका एक सदस्यलाई सरकारले रोजगारी दिने भएको छ।सोमबार पीडित पक्षका प्रतिनिधिसँग भएको छलफलपछि गृह मन्त्रालयले मृतकका परिवारका एक/ एकजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको हो।

चारबुँदे सहमतिअनुसार गृह मन्त्रालयले मृतकहरूलाई सहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्नेछ। थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने तथा मृतकका परिवारले आजै शव बुझ्ने सहमति पनि भएको छ।

सहमति-पत्रमा प्रदर्शनमा मृत्यु भएका अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन्।

अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा सहमतिमा रोहबर बसेका छन्।

सहमतिपछि पीडितपक्षसँग भेटघाट गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबारकै मन्त्रिपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको जानकारी दिए। राज्य व्यवस्था समितिको बैठकमा समेत उनले उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो