लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

मङ्गलबार, भदौ २७, २०७९ मा प्रकाशित

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।

समितिमा मुख्यमन्त्री केसीका अतिरिक्त प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेशस्तरका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू छन् । संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जनाएको छ ।

आइतबार बसेको बैठकले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला तथा सञ्चार सचिव सदस्यसचिव रहेको निर्देशक समितिसमेत गठन गरेको छ ।

असोज २ गते प्रदेशस्थित सबै कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, सरसफाइ गर्ने, प्रदेशस्थित सबै कार्यालयमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी असोज ३ गते बिहान प्रभातफेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरूको नामावली सार्वजनिक गर्ने, स्थानीय टेलिभिजनहरूबाट अन्तरवार्ता, परिसंवाद लगायत प्रसारण गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहलाई संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न अनुरोध गर्ने, साँझ दीपावली गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । असोज ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरूमा साँझ दीपावली गर्ने निर्णय भएको उनले बताए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो