मुख्यमन्त्री राउतलाई ‘लौरो’ को चुनौती

आइतबार, कार्तिक २६, २०७९ मा प्रकाशित

मुख्यमन्त्री राउतलाई ‘लौरो’ को चुनौती

जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएको छ ।

पर्सा क्षेत्र नम्बर १ ९ख० बाट प्रदेश सभा सदस्यका लागि एमाले–जसपाका साझा उम्मेदवार बनेका राउतका लागि स्वतन्त्र उम्मेदवारहरू चुनौती बनेका छन् । पर्सा १ ९ख० का प्रदेश सभा सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् त्यसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जसपाबाट लालबाबु राउत, काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी, जनमत पार्टीबाट शिवप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टी, नेपालबाट अङ्कुश पटेल, राप्रपाबाट विनयप्रसाद झा, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्रप्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेनले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कासिम मियाँ धोवी, श्यामप्रसाद गुप्ता, मुकेश साह सोनार, विशाल कुमार, रोगीन्द्र ठाकुर हजाम, जुनैद हुवारी, आफताब अहमद, शशीकपुर मियाँ, राकेश कुमार दुवे, रामरुप प्रसाद साह, पुन्देश्वर प्रसाद यादव र सन्तोष कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यी उम्मेदवारहरू ओमप्रकाश सर्राफ र शशी कपुर मियाँले मुख्यमन्त्री राउतको टक्कर दिइरहेका छन् । सर्राफ हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका छन् तर उनले आफूलाई ‘स्वतन्त्र उम्मेदवार’ नै भन्छन् । लौरो अभियान अन्तरर्गत आफूले लौरो चुनाव चिन्ह लिनका लागि सो पार्टीबाट उम्मेदवारी दिएको तर आफू स्वतन्त्र उम्मेदवार रहेको उनले बताए । नेता सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० बाट विद्रोह गरेर लौरो अभियानमा सामेल भएर चुनावमा उठेका हुन् । उनी लोसपा वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष थिए । लामो समय सो पार्टीमा रहेर काम गरे पनि उनलाई पार्टीले टिकट नदिए पछि उनी लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका हुन् ।

त्यस्तै शशी कपुर मियाँ जसपाबाट विद्रोह गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पर्सा १ ९ख० मा जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका राउत, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, स्वतन्त्र उम्मेदवारहरू ओमप्रकाश सर्राफ र शशी कपुर मियाँबीच प्रतिस्पर्धा रहेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

यी तीनजनामध्ये मुख्यमन्त्री राउत निकै पछाडि रहेको बताउँछन् अर्का नागरिक अगुवा मदन गुप्ता । उनी भन्छन्, ‘मुख्यमन्त्रीले जुन अवसर पाउनु भएको थियो त्यो अवसर गुमाउनुभयो, यसपटक उहाँको जमानत जफत हुन्छ ।’ महानगरभित्र पर्ने सो क्षेत्रमा मुख्यमन्त्री राउतको निकै आलोचना हुने गरेको छ । वीरगञ्जलाई मधेस प्रदेशको राजधानी बनाउने प्रतिबद्धता गरे पनि उनी चुनाव जितेर गएका थिए तर जनकपुरलाई राजधानी बनाएको कारण क्षेत्रमा राउतको गुनासो निकै भइरहेको उनी बताउँछन् ।

ठुला भ्रष्टाचारमा उनको नाम मुछिएको कारणले पनि मतदातामा उनीप्रति निराशा रहेको बताउँछन् प्रकाश थारु । मुख्यमन्त्री राउतलाई हराउने अभियान नै यहाँ चलेको बताउँदै उनले भने, ‘राउतले मधेसको मुद्दालाई भजाए तर वीरगञ्जको लागि केही गरेनन् ।’

 

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो