बारा–४ का मतदाताको गुनासो– जितेर गएकाहरु फर्केर आएनन्

बुधबार, कार्तिक २९, २०७९ मा प्रकाशित

बारा–४ का मतदाताको गुनासो– जितेर गएकाहरु फर्केर आएनन्

गाउँमा विद्यालयदेखि खानेपानीको समस्या

फेटा गाउँपालिकाका ७ वटा वडामध्ये वडा नं १ सबैभन्दा ठुलो र धेरै जनसङ्ख्या भएको वडा हो । ६ वटा ठुला गाउँ यसै वडाभित्र पर्दछन् । गाउँमा ४ वटा आधारभूत तहका विद्यालय रहे पनि माध्यमिक तहको पढाइ नहुँदा यहाँका विद्यार्थीहरू केही बीचमै पढाई छाड्छन् भने केही अन्यत्र पढ्न जान्छन् ।

फेटा गाउँपालिका– १, त्रिवेणी टोलका विवेक कुशहवा गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा धेरै समस्या भएको बताउँछन् । ५ वर्षअघि जितेर जानेले शिक्षा र स्वास्थ्यमा केही काम नगरेको उनको गुनासो छ ।

 

 

‘गाउँमा एउटै माध्यमिक विद्यालय छैन्, वर्षामा सडक हिलाम्य हुन्छ, किसानलाई प्रविधि, मल र सिँचाइ नहुँदा हेक्टरका हेक्टर जमिन बाँझो छ,’ उनले भने, ‘पहिला जितेर जानेले विकासभन्दा पनि आफ्नो कार्यकर्ता रिझाउन मात्रै ध्यान दिए, उहाँहरूको संसदीय कोषबाट हाम्रो गाउँमा केही काम भएको छैन ।’

सोही गाउँका शारीरिक रूपमा अशक्त मुकेशकुमार दास पनि २०७४ मा निर्वाचन जितेर गएकाहरु गाउँमा फर्केर नआएको गुनासो गर्दछन् । गाउँमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नहुँदा बिरामी छोरालाई उपचार गर्न जान नसकेको गुनासो गर्छन् ।

‘छोराको उपचार गर्न नसकेर घरमै राखेको छु, डाक्टरले स्वास्थ्य बीमा गरेर आउनुस् भन्छन्, गाउँमा स्वास्थ्य बीमा कार्यक्रम छैन, हाम्रो गुनासो सुनिदिने पनि कोही छैन,’ दासले भने ।

 

सो वडामा २५० भन्दा बढी घर दलित समुदाय छन् । दलित परिवारका महिलाहरू गाउँमा खानेपानी र माध्यमिक तहको विद्यालय नहुँदा समस्या भएको गुनासो गर्दछन् । सोही वडाकी लालपरी देवी १५÷२० घरधुरीका लागि गाउँमा एउटामात्रै धारा भएको र त्यो पनि बेला बेलामा पानी सुक्ने गरेको बताउँछिन् ।

‘चुनावमा दलितहरुको लागि खानेपानीको धारा, बिजुली, स्कुल बनाइदिन्छु भन्छन् तर जितेर गएपछि गाउँ नै फर्केर आउँदैनन् नेताहरू,’ उनले भनिन् ।

 

कलैया उपमहानगरपालिका वडा नं १७ का महेशराम पनि गाउँमा दलितका छोराछोरीहरू पढ्न माध्यमिक तहको विद्यालय र खानेपानीको समस्या अधिक रहेको बताउँछन् । ‘स्कुल छ त तर प्राथमिक तहको मात्रै छ, हाम्रो गाउँमा खानेपानीको पनि धेरै समस्या छ,’ उनले भने ।

बारा निर्वाचन क्षेत्र नं ४ भित्र बारा–पर्सा औद्योगिक करिडोर, पर्सा राष्ट्रिय निकुञ्ज, विशेष आर्थिक क्षेत्र ९सेज प्राधिकरण०, सिमरा विमानस्थल, प्राकृतिक स्रोत साधन, कृषियोग्य भूमि पर्दछ ।

सो क्षेत्रमा करिडोरका मजदुर, उद्योग मालिक, यातायात व्यवसायी, कृषकका आ–आफ्नै समस्या छन् । बारा निर्वाचन क्षेत्र नं ४ जीतपुरसिमरा उपमहानगर वडा नं १९ की रिती खातुन छोरोछोरीको नागरिकता नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँछिन् ।

 

आफ्नो अङ्गीकृत नागरिकता भए पनि उमेर पुगेका छोराछोरीको नागरिकता बन्न नसक्दा रोजगारीका लागि समस्या भएको उनको भनाइ छ ।

‘६ मध्ये ३ वटा छोराको नागरिकता बनाउने उमेर पुगिसक्यो, विदेश जान छटपटाइरहेका छन् तर नागरिकता बन्न सकेको छैन,’ खातुनले भनिन् ।

जीतपुरसिमरा–२० का कृषक दोष मोहमद किसानको पिरमर्का कुनै उम्मेदवारले नबुझेको गुनासो गर्दछन् । ‘चर्को मूल्यमा मल किन्नुपरेको छ, सिँचाइको व्यवस्था छैन, जितेर गएका नेताहरू गाउँमा फर्केर आएनन्, अब फेरि केको लागि मत दिने रु’ उनको प्रश्न छ ।

बारा निर्वाचन क्षेत्र नं ४ मा करिब १ लाख ३ हजार मतदाता छन् । यो निर्वाचन क्षेत्रमा जीतपुरसिमरा उपमहानगरको १६ वटा वडा, कलैया उपमहानगरको वडा नं १७, विश्रामपुर, परवानीपुर र फेटा गाउँपालिका पर्दछ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो