खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

बुधबार, पुष १९, २०७९ मा प्रकाशित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध भएको छ।

पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण भिजिभिलिटी कम भएकाले कुनै पनि आन्तरिक उडान भएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले सबै आन्तरिक उडान प्रभावित भएको हो।

आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार क्रमिम रूपमा मौसम खुलिरहेकाले उडानहरू केही समयपछि सुरू हुने क्रममा रहेको छ।

बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि लागेको हुस्सु क्रमश सफा हुँदैछ।

देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो