गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीकाे सह-आयोजनामा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा साेमबार अपराध न्यूनीकरण, शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको हो ।
प्रस्तुतिका क्रममा प्रहरी निरीक्षक केसीले समाजका विकराल बढ्दै गएको समस्या, उक्त समस्याबाट हुने क्षति, समाधानका उपाय र कानुनी कारबाहीका सम्बन्धमा जानकारी गराएका थिए । उनलेे लागुऔषधकाे नियन्त्रणका थुप्रै प्रयास भएपनि नियन्त्रण हुन नसकेको बताए । उनले सडक सुरक्षा, लागुऔषध र साइबर अपराध सम्बन्धी भइरहेको घटना, बच्ने उपाय र हुने कानुनी कारबाही सम्बन्धी प्रस्तुतिका क्रममा सचेतना दिइएका थिए ।
उक्त कार्यक्रममा प्रस्तुतीकरणका बिषय, सेवा प्रवाहकाे सन्दर्भ र नजिकिँदै गरेका चाडपर्वका लागि शान्ति सुरक्षाको सन्दर्भमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम थप प्रभावकारी बनाउने बिषयमा पनि सहभागी युवाहरुबाट प्रतिक्रिया लिइएको थियो । उनीहरुले सदरमुकाम तम्घास केन्द्रित मात्रै नभएर यस्ता सचेतना कार्यक्रम ग्रामीण भेगमा पनि कार्यक्रम गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन भुजेलले समुदायमा प्रहरी पुग्ने र नागरिकसँगकाे सम्बन्धका बिषयमा आफूहरूले कार्यक्रम गरिरहेकाे र आगामी दिनमा पनि थप कार्यक्रम गर्ने बताए । उनलेे समुदाय-प्रहरी साझेदारी कार्यक्रम संचालन भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले चाडपर्व नजिकिँदै गर्दा हुनसक्ने घटनाहरुकाे कमी गर्नका लागि सचेतना कार्यक्रम गरिरहेकाे बताए । उनलेे यसअघि क्याम्पसमा पुगेर यहीँ किसिमको कार्यक्रम गरेको, अहिले दर्जनौं ग्रामीण भेगका युवा र क्लबका युवाहरूसँग सचेतनाका कार्यक्रम गरेको बताएका छन् । उनले नागरिक र सराेकारवाला दुवैले आ-आफ्नो भूमिका निर्वाह गरेर समाजमा हुनसक्ने विभिन्न किसिमका घटनाहरूकाे नियन्त्रण गर्दै जानुपर्ने बताए ।